"तिमी किन संसारबाट भाग्न खोज्छौ के सधैं?"।
"यो सब नाटक हाम्रो लागि होईन भन्ने बुझ्"।
परस्पर-विरोधी सुनिएतापनि निकै बोध, करूणा र प्रेमबाट मलाई भनिएका वाक्यांश हुन् यी। भन्ने व्यक्ति फरक, लवज़ फरक, मेरो मनस्थिती फरक, परिस्थिति फरक, तर गहनता उतिनै।
यसो विचार गर्दा यी वाक्य ती दुई व्यक्तिले मलाई होईन, सृष्टिले नै चैतन्यलाई भनेको जस्तो लाग्यो। झण्डै "भाग्छौ त कता भाग्छौ? यतै बस्छौ त के यही दोहोर्याउछौ?" भनेझैं; कुनै zen koan झैं; ओशोको confusion before clarity झैं। दुईटै गहन छन्, विचार योग्य छन्। यो परस्पर-विरोधी दोधारमा द्र्ष्टा भई हिंड्न सक्नु नै मुक्तोन्मुख हुनु होला शायद।
संयोगले भनौं या नियतीले नै, अहिले दुबै व्यक्ति टाढिएका छन् मबाट। कोही अलि-अलि टाढा त कोहि मोहम्मद-मोहम्मद... हाहाहा... मेरो मतलब अलि धेरै टाढा।
उहिलेको म हुॅदो हुॅ त मात्र दु:खी हुॅन्थे होला; बेला-बेला रिसको ज्वालामुखि; बेला-बेला पछुतोको ऑधी। असजिलोपन पुरै हटिसक्यो भनेर गफ त हान्दिन तर अहिले अलि फरक दृष्टिकोण छ मेरो: अलि ज्यादा शान्त, अलि ज्यादा ध्यानमग्न। जे भएनि करुणामयी व्यक्तिहरु टाढिदा अलि केही नमिलेको अनुभुति भने गर्दैछु। अनियमितता प्रमुख सत्य भएको यो संसारमा मेरो परिस्थितिगत ब्याख्या उहि रहला-नरहला तर अहिलेको लागि भन्नुपर्दा एक शब्द पर्याप्त होला: बेमेल।।।
No comments:
Post a Comment